बुझ्न कठिन मेरा उनान्सय भाषाहरू

Blog image

- मिदेश महर्जन

The child is made of one hundred.
The child has
a hundred languages
a hundred hands
a hundred thoughts
a hundred ways of thinking
of playing, of speaking.

A hundred. …………………….

म आफ्नो बालापनमा अनेक भाषाहरू बोल्ने गर्थें । मेरा सयौँ भाषाहरूमध्ये उनान्सय भाषाहरू कसैले बुझेनन् वा बुझ्न चाहेनन् । लोरिस मालागुज्जीले मेरा ती भाषाहरू बुझ्ने प्रयास गर्नुभयाे र फलस्वरूप, सन् १९८० ताका रेजियो एमिलिया दर्शनको जन्म भयो । 

रेजियो एमिलिया शिक्षण गर्ने तरिका वा प्रक्रियाभन्दा पनि एउटा दर्शन हो । यस दर्शनले बालबालिकालाई एक सक्षम, सक्रिय, सिर्जनशील र उत्सुक प्राणीका रूपमा चित्रण गर्दछ । यस दर्शनले बालबालिकालाईआफू वरपरको संसारलाई बुझ्न,  संसार र यहाँका अन्य प्राणीहरूसँग सम्बन्ध गाँस्न तथा तिनीहरूसँग  वातचित गर्न उत्सुक प्राणीका रूपमा  लिने गर्छ । यसरी आफ्नो संसारलाई बुझ्ने क्रममा बालबालिकाले विभिन्‍न भाषाहरूको प्रयोग गर्छन् र आफ्ना बुझाइहरूलाई  सयौँ  भाषाहरूमा व्यक्त गर्छन्, जसलाई लोरिस मालागुज्जीले ‘बालबालिकाका सयौँ भाषाहरू’  भनी उल्लेख गर्नुभएको छ ।

बालबालिकाका सयौँ भाषाहरू भन्ने कविताले बालबालिकामा निहित असीमित  सम्भावनाहरूलाई साङ्केतिक  रूपमा व्याख्या गर्न खोजेको छ । यस कवितालाई सारमा भन्नुपर्दा, बालबालिकाहरूले सयौँ सम्भावनाहरू बोकेका हुन्छन् ।  उनीहरूले सोच्ने सयौँ तरिकाहरू हुन्छन् ।  उनीहरूले खेल्ने, बोल्ने, सुन्ने, गाउने, खुसी रहने, माया प्रदर्शन गर्ने र संसारलाई हेर्ने, बुझ्ने र सिक्ने सयौँ तरिकाहरू हुन्छन् । उनीहरूले आफ्नो संसारको खोजी गर्ने, आविष्कार गर्ने र सयौँ संसारहरूका सपना देख्ने सम्भावना राख्दछन् । तर उनीहरूका ती सयौँ वा सयौँभन्दा पनि बढी भाषाहरूमध्ये उनान्सय ओटा भाषाहरू खोसिए । अभिभावकले, शिक्षकले, विद्यालयले, समाजले र संस्कृतिले उनीहरूका उनान्सय भाषाहरू खोसे । उनीहरूले  बालबालिकाहरूलाई आफूसरह सोच्न, बोल्न, सुन्न, संसारलाई बुझ्न र जिउन  बाध्य बनाए । बालबालिकाहरू चिच्याइरहे, हाम्रा सयौँ भाषाहरू छन् भनेर, तर उनीहरूले सुनेनन् । सम्भवतः  हामीलाई सजिलो र हामीले बुझ्ने भाषामा मात्र उनीहरूसँग हामीले संवाद गर्यौं  र उनीहरूलाई बुझाउन खोज्यौँ अनि उनीहरूबाट त्यही अपेक्षा राख्यौँ ।

मेरो बाल्यकालमा ...

म शङ्खेकिराहरू कसरी हिँड्छन् भनी बुझ्न घण्टौँ त्यसलाई हेरी बस्थेँ । “खुरुखुरु नपढिकन काम न काजका किराफट्याङ्ग्राहरू पो हेरी बस्छ !” भनी मैले गाली खाएँ ।

म माटो मुछ्थेँ , माटाका भाँडाहरू बनाउँथेँ । कत्रो भाँडा बनाउन कति माटो चाहिन्छ भनी म बुझ्न खोज्दै थिएँ । “खुरुखुरु नपढिकन माटो पो खेलेर बस्छ, छि ! फोहरी” भनी मैले गाली खाएँ ।

म साथीहरूसँग भाँडाकुटी खेली सामाजिक परिवेश बुझ्न, समाज र परिवारका सदस्यहरूको भूमिका बुझ्न खोज्दै थिएँ । “खुरुखुरु नपढिकन जहिले पनि भाँडाकुटी पो खेलेर बस्छ !” भनी मैले गाली खाएँ ।

म राता र निला फूल मिसाएर पिस्दा कस्तो रङ्ग हुन्छ भनी बुझ्न खोज्दै थिएँ । “खुरुखुरु नपढिकन फूलहरू टिपेर पिस्दै पो रहेछ !” भनी मैले गाली खाएँ ।

म स्कूलको गृहकार्य कापीमा रङ्गीचङ्गी चित्रहरू बनाउँदै रङ्गसँग नजिक हुन खोज्दै थिएँ, खुसी हुन खोज्दै थिएँ । “खुरुखुरु नपढिकन जहिले पनि रङ्ग र चित्रसँग पो खेल्दै बस्दो रहेछ !” भनी मैले गाली खाएँ ।

स्कूलका कापीका पाना च्यातेर कागतको हवाईजहाज बनाई म यो कसरी उड्छ भनी बुझ्न खोज्दै थिएँ । कागतको डुङ्गा बनाई, डुङ्गा पानीमा कसरी उत्रन्छ भनी बुझ्न खोज्दै थिएँ । “खुरुखुरु नपढिकन किनिदिएको कापी च्यातेर नानाथरी बनाएर पो बस्दो रहेछ !” भनी मैले गाली खाएँ ।

साथीभाइसँग काफलको रूख चढी त्यसकाे स्वाद लिँदै रूख चढ्दा सन्तुलन र गुरूत्वाकर्षण केन्द्र (center of gravity) बुझ्न खोज्दै थिएँ । “खुरुखुरु नपढिकन वन डुल्दै पो बस्दो रहेछ !” भनी मैले गाली खाएँ ।

तिहारताका बारीबाट फूल टिप्दै सियो धागाले माला बुन्दै सिलाइको सिप सिक्दै थिएँ । “खुरुखुरु नपढिकन मालाकारले झैँ माला बुन्दै पो बस्दो रहेछ !” भनी मैले गाली खाएँ ।

घण्टाको दुई रुपियाँ तिरी भाडाकाे साइकल चढी सन्तुलन तथा दुई पाङ्ग्रे साधनहरूको चालका बारेमा बुझ्न खोज्दै थिएँ । “खुरुखुरु नपढिकन दिनभर बरालिँदै हिँड्दाे पो रहेछ !” भनी मैले गाली खाएँ ।

साथीभाइसँग गुच्चा खेल्दै सङ्ख्या, जोड-घटाऊ, दूरी, कोण, बल, प्रक्षेपण तथा भेक्टरका कुराहरू बुझ्न खोज्दै थिएँ । “खुरुखुरु नपढिकन गुच्चा खेलेर पो बस्दो रहेछ !” भनी मैले गाली खाएँ ।

निर्माणस्थलमा गई चिसो बालुवाका थुप्रामा साथीभाइसँग आफ्नो हातको आकारका मसिना सुरुङहरू बनाई एउटा प्वालबाट आगो बाली धुवाँ कसरी अर्को प्वालमा जान्छ भनी बुझ्न खोज्दै थिएँ । “खुरुखुरु नपढिकन बालुवा खेलेर पो बस्दो रहेछ !” भनी मैले गाली खाएँ ।

निर्माणस्थलमा गई इँटका चाङ लगाई विभिन्न अग्ला-अग्ला बनोटहरू बनाई कस्ता संरचनाहरू स्थिर हुन्छन् भनी बुझ्न खोज्दै थिएँ । “खुरुखुरु नपढीकन ज्यामी जस्तै इँट खेलेर पो बस्दो रहेछ !” भनी मैले गाली खाएँ ।

"कलम क, खरायो ख, गमला ग ।"
"A is for apple, B is for ball, C is for cat."
"1, 2, 3, 4."


बिहान सबेरै उठी ठूल्ठूलो स्वरले यी र यस्ता भाषाहरू बोल्दा मेरा परिवार, शिक्षक, विद्यालय र समाज खुसी हुन्थे । कारण उनीहरूले मेरा उनान्सय भाषाहरू कहिल्यै बुझेनन् वा बुझ्न चाहेनन् । उनीहरूकाे बुझाइभन्दा पर, धेरै परका भाषाहरूको प्रयोग गर्न म सक्षम छु भनी मैले कहिल्यै बुझाउन सकिनँ । मेरा बालापनका भाषाहरू, मेरा सयाैँ भाषाहरू ।

अनि म सम्झन पुग्छु लोरिस मालागुज्जी र बालभाषाहरू। मेरा सयाैँ भाषाहरू ।

तस्बिर - नारायण महर्जन

Related Post

Click image for details