आवश्यकता फरक चिन्तनको: युवामैत्री हैन, बालमैत्री चिन्तन

Blog image

विकासका नाममा हामी यत्ति मच्चिन थाल्यौँ कि हामीले आफ्नै बाल्यकाल बिर्सियौं । वयस्कमैत्री विकासमा मात्र मच्चिन थाल्यौँ र आफ्ना बालबालिकाको खिन्नताको कारक बन्न पुग्यौं ।

‘बाबा म फुटबल खेल्न जान्छु है ?’
‘पर्दैन १ कंक्रिट मैदानमा फुटबल खेल्दा चोटपटक लाग्न सक्छ ।’
९ बर्षे छोरा खिन्न हुन्छन् । हुन पनि टोलभरको खाली ठाँउ भनेको त्यही एउटा, त्यसमा पनि कंक्रिटको ढलान, त्यो पनि हामी आफैंले बनाएको ।

छोराको खिन्नताले एक अभिभावकका रूपमा सोच्न बाध्य बनायो । बालमैत्री शिक्षाको वकालत गर्दै शिक्षा क्षेत्रमा लागेको पनि डेढ दसक भइसकेको छ । शिक्षा बालमैत्री हुनैपर्छ, यसमा दुइमत छैन । तर शिक्षाभन्दा अलिक माथि उठेर मैले आफूमा बालमैत्री चिन्तन विकास गरेको भए शायद मेरा छोराको यो खिन्नता देख्नुपर्ने थिएन ।

टोलभर भएको त्यही एउटा खाली ठाँउ, त्यसलाई पनि हामी आफैले कंक्रिट मैदानमा परिणत गरिसक्यौं , हामी वयस्कहरूलाई ब्याडमिन्टन खेल्नका लागि कोर्टको आवश्यकता भएर । छोराको खिन्नताले एउटा तथ्य आँखासामू आएझैं भयो । लगभग १ कि। मि। को अर्धब्यासमा मेरै गाऊँछिमेकमा ४ वटा ब्याडमेनटन कोर्ट छन्, पाँचौं हामीले बनाइसक्यौँ । स्वास्थको लागि ब्यायम अपरिहार्य हो, तथापि साँच्चिकै स्वास्थबारे सजग भएको भए हामी १० मिनेट हिँडेर भए पनि ४ मध्ये कुनै एक ब्याडमिन्टन कोर्टमा गई खेल्न सक्थ्यौं । विकासका नाममा हामी यत्ति मच्चिन थाल्यौँ कि हामीले आफ्नै बाल्यकाल बिर्सियौं । वयस्कमैत्री विकासमा मात्र मच्चिन थाल्यौं र आफ्ना बालबालिकाको खिन्नताको कारक बन्न पुग्यौं ।

खिन्नतामै छोराले सोध्यो, ‘हामी खेल्ने ठाउँ खै त ?’

छोराको यो प्रश्नले मलाई साँच्चिकै आफ्नो बाल्यकालमा जान बाध्य बनायो । उसको उमेरमा म आफैं पनि कम्ताका फूर्तिलो थिइनँ । खेल्ने, कुद्ने, घुम्ने, बालापनामा गर्नुपर्ने सबै क्रियाकलापमा सहभागी हुन पाएको म । फुटबल खेल्दाखेल्दै विद्यालयको ढोका नै फुटाएका हामी नै थियौं । फुटबल खेल्दा टोलवलमा (हाल कंक्रिट ब्याडमिन्टन कोर्ट भएको ठाँउ) बाधा पुग्यो भनी एक दाजैले फुटबल खोसेर लिँदा दाजुसँग झगडा गर्ने मै थिएँ ।

आज छोराले त्यही चिजको माग राख्दा हामीले पुर्याउन सकेनौं । यसको कारण हाम्रो चिन्तन हो । र चिन्तन बदल्न नसक्नुको कारण, हामीले आफ्नो अतीतलाई बिर्सियौं , आफ्नो बाल्यकाल बिर्सियौं ।

बालमैत्री चिन्तन भनेको, मेरो बुझाइमा, बालबालिका र उनीहरूको आवश्यकतालाई उनीहरूको दृष्टिकोणबाट हेर्न र बुझ्न सक्नु हो । वास्तवमा बालमैत्री चिन्तन आफूमा ल्याउन त्यति गाह्रो पनि नहुँदो रै’छ, आफ्नो बालावस्थामा आफूलाई जे-जस्ता क्रियाकलापहरूमा चाख लागेको थियो, त्यसमाथि अलिकति चिन्तन गरियो भने आफूमा स्वतस् बालमैत्री चिन्तनको विकास हुँदो रहेछ । बालविकासका चरणहरूलाई आधार मानेर भन्ने हो भने लगभग सबै बालबालिकाहरूको विकास एउटा ढाँचामा हुन्छ र विशेष उमेर समुहमा विशेष रूचि र आवश्यकताहरू हुन्छन् । म पनि कुनै समयमा ९ वर्षको थिएँ र मेरा आवश्यकताहरू आज मेरो छोराको भन्दा त्यति फरक थिएन ।

तसर्थ बालबालिकाको चौतर्फी विकासका निम्ति विद्यालय त बालमैत्री हुनैपर्यो नै, यसका साथै अभिभावकमा, टोलछिमेकमा र हाम्रो समाजमा बालमैत्री चिन्तनको विकास हुनुपर्ने देखिन्छ ।

-मिदेश महर्जन 



Related Post

Click image for details