कार्यक्रममा रातो बंगला फाउन्डेसनका सिनियर टिचर्स ट्रेनर मिदेश महर्जनले बालबालिकामा पढ्ने बानीको विकास गर्नु किन महत्वपूर्ण छ भन्ने कुराको व्यवहारिक रुपमा प्रयोग गरेर व्याख्या गर्नुभयो । “धनी झन् धनी हुँदै जान्छ र गरिब झन् गरिब हुँदै जान्छ” भन्ने मेथ्युको सिद्धान्तलाई शिक्षामा प्रयोग गर्दा प्रारम्भिक अवस्थामा नै पढाइको सीप सिक्न नसक्ने बालबालिकाले पढाइ गर्दा अप्ठ्यारो हुँदा पढाइमा इच्छा लाग्न छोड्ने र सम्पूर्ण पढाइमा नै पछि पर्दै जाने मात्र नभई अन्य सीप सिक्नमा पनि पछि पर्दै जाने उहाँले बताउनुभयो । साथै, बालबालिकाको सिक्ने प्रक्रियामा सर्वप्रथम सुनाइ, त्यसपछि बोलाइ र पढाइ हुँदै अन्तिममा मात्र लेखाइको सीप सिक्ने क्रम हुन्छ । यद्यपि, हाम्रो समाजमा अभिभावकहरूले आफ्नो बच्चाले सुरुमै लेखाइ सिकोस् भन्ने अपेक्षा राख्ने हुनाले बच्चाको पढाइमा ठूलो असर परिरहेको पनि उहाँले बताउनुभयो । त्यसैले बालबालिकामा पढ्ने बानीको विकास गर्नको लागि सुरुमा उनीहरूको सुन्ने सीपमा विकास गर्नुपर्ने हुन्छ, जसको लागि अभिभावकले आफ्नो बच्चालाई कथा पढी सुनाउने, बच्चासित समय बिताउँदै प्रसस्त कुरा गर्ने गर्दा फलदायी हुने उहाँले बताउनुभयो । यसका साथै जन्मदिनमा उपहार दिँदा पुस्तक दिने, घरमा पढ्नको लागि छुट्टै ठाउँको व्यवस्था गर्ने, सामुदायिक पुस्तकालयहरूमा लैजाने गर्नको लागि पनि उहाँले सुझाव दिनुभयो । 



तस्बिर - मेरिट महर्जन
Click image for details