ourkirtipur.com.np

Friday
Aug 18th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home News and Events Shahid Weekly गङ्की–धुँस्वा बसुन्धरा पुरस्कार प्रदान

गङ्की–धुँस्वा बसुन्धरा पुरस्कार प्रदान

E-mail Print PDF

काठमाडौं । गङ्की–धुँस्वा बसुन्धरा पुरस्कार उपन्यासकार जलेश्वरी श्रेष्ठ तथा धुँस्वा साय्मी सिर्जना पुरस्कार वरिष्ठ कलाकार कृष्ण मानन्धरलाई सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रदान गरियो ।

नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याएबापत उपन्यासकार जलेश्वरीलाई र कलाको विकासमा लामो समयदेखि योगदान दिएबापत मानन्धरलाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २१/२१ हजार नगद र सम्मानपत्र रहेको छ । उहाँहरुलाई ती पुरस्कार प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदान गर्नुभएको थियो ।

हिन्दी, नेपाली, नेपालभाषा र अंग्रेजीमा कलम चलाउनु हुने वरिष्ठ साहित्यकार धुँस्वा साय्मी तथा उहाँकी धर्मपत्नी बसुन्धराको स्मृतिमा ती पुरस्कार स्थापना गरिएका हुन् ।
सो कार्यक्रममा प्रधानमन्त्री भट्टराईले भाषा साहित्य, कला र संस्कृति समाजको ऐना हो र समाज कति विकसित तथा समृद्व छ भन्ने कुराको मापन हो भन्दै राष्ट्रले साहित्यकार, कलाकार एवं संस्कृतिविद्को सम्मान गर्नसक्नुपर्छ भन्नुभयो ।

सम्मानित कलाकार मानन्धरले साहित्य, कला र संस्कृतिको विकासका लागि यसका स्रष्टाहरुलाई एकै ठाउँमा राखेर नयाँ सिर्जना गर्न सक्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उपन्यासकार जलेश्वरी श्रेष्ठले नारी पीडा, विभेद र समस्यालाई चित्रण गरेर आफूले लेख्न थालेको र पछिल्लो उपन्यास नियतीचक्र पनि नारी प्रधान नै रहेको बताउनुभयो ।
कार्यक्रममा सो प्रतिष्ठानका अध्यक्ष डा. अरुण साय्मि, पुरस्कार छनोट समितिका हरिप्रसाद वैद्य, गीताकेशरी र प्रकाश साय्मिले प्रतिष्ठानको गतिविधि तथा वरिष्ठ साहित्यकार धुँस्वा साय्मिको व्यक्तित्व तथा कृतित्वबारे प्रकाश पार्नुभएको थियो ।