शाही पार्टीबाट निष्काशित काठमाडौं। नेपाल मजदुर किसान पार्टी केन्द्रीय सचिवालयको बैठकले सोमबार पार्टी बाजुरा जिल्ला समिति भङ्ग गरेको छ।
पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिद्वारा हस्ताक्षरित सोमबार प्रकाशित विज्ञप्तिमा भनिएको छ – 'नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छें (रोहित) को अध्यक्षतामा आज मिति २०६९ साल भाद्र १८ गते बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले नेमकिपा बाजुरा जिल्ला समितिका अध्यक्ष महेश शाहीले पार्टी विधान २०४७ को दफा ९ बमोजिम पार्टी अनुशासन र सिद्धान्तविपरीत कार्य गरेको हुँदा निजलाई पार्टी साधारण सदस्यबाट समेत निष्काशन गरी विधानको दफा २२ को उपदफा (७) बमोजिम आजकै मितिबाट नेमकिपा बाजुरा जिल्ला समिति भङ्ग गर्ने निर्णय गरेको छ।
त्यस्तै सोमबार बसेको नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय समिति सदस्य राजेन्द्र बुढा (बाजुरा)लाई संघको विधान, नियम र अनुशासनविपरीत कार्य गरेकोमा संघको साधारण सदस्यबाट समेत निष्काशन गरेको छ। संघका केन्द्रीय अध्यक्ष उकेश कवांको अध्यक्षतामा बसेको बैठकले संघको विधान २०४७ (संशोधन २०६८) को दफा १० को उपदफा १, २, ३ र ४ बमोजिम अनुशासनको कारबाही गरेको केन्द्रीय सचिव प्रकाशद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।
