कीर्तिपुर स्वयंसेवक समाज, कीर्तिपुर नगरपालिका, अग्नि पीडित राहत संकलन सहयोग समितिको संयुक्त आयोजना शनिबार कीर्तिपुर तःननी टोलमा आगलागी सम्बन्धी प्रयोगात्मक अभिमुखीकरण तालिम सम्पन्न भयो।
कार्यक्रममा जुद्ध वारुण यन्त्र काठमाडौंका लीला बस्यालले आगलागी हुने कारण, आगलागीका प्रकार, अग्नि नासक यन्त्र र सुरक्षाका उपायहरुबारे जानकारी दिनुभएको थियो भने जुद्ध वारुण यन्त्रका फायर म्यान नरेश कुँवरले ग्याँस लिक भई या अन्य प्रकारले आगलागी हँदा कसरी निभाउने र कसरी सुरक्षा हुने सम्बन्धी आगलागीको प्रयोग गरी तालिम दिएको थियो।
अग्नि पीडित राहत सहयोग समितिका अध्यक्ष प्रदीप महर्जनको सभापतित्वमा भएको कार्यक्रममा समाजका गौतम महर्जनले कार्यक्रम संचालन गर्नुभएको थियो। कार्यक्रममा स्थानीय बासिन्दाको व्यापक उपस्थिति रहेको थियो।
