कामदारको अधिकार समाजवादमा मात्र पाउने

Tuesday, 11 September 2012 15:19 ourkirtipur
Print

काठमाडौं। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले कुनै पनि पार्टी सिद्धान्तले चल्छ र नेमकिपा समाजवादी गणतन्त्रको विचार बोकी अगाडि बढिरहेको छ भन्नुभयो।

नेमकिपा टोखा चण्डेश्वरीको आठौं गाउँ एकाइ सम्मेलनमा प्रशिक्षण दिंदै उहाँले समाजवादी गणतन्त्रमा मात्र कामदार जनताले अधिकार पाउँछ भन्नुभयो। पूँजीवादी गणतन्त्रमा पूँजीपति वर्गको सेवा हुने चर्चा गर्दै उहाँले समाजवादी व्यवस्थामा काम गर्नेले खान पाउने, उत्पादनका मुख्यमुख्य साधनहरु राष्ट्रियकरण हुने, सम्पत्तिको सीमा तोकिने, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, व्यक्तित्व विकासमा समान अवसर पाउँछ भन्नुभएको छ।

उहाँले भन्नुभयो – 'नेपालका राजनैतिक दलहरु कुनै सिद्धान्त र अनुशासनको मतलब नराखी चलेका छन् र हामीले यसको विरोध गर्दै आएका छौं।' 'संविधानसभा विघटन हुनुको कारण भारतको इच्छाअनुसार 'एक मधेस एक प्रदेश' सम्भव नदेखेकोले हो, हाल पुनःस्थापना गर्न पहिलेकै सर्त मान्नुपर्ने कुरा अगाडि सारेबाट उक्त कुरा पुष्टि हुन्छ'– उहाँले भन्नुभयो। नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले अहिलेको राजनैतिक निकास दिन राष्ट्रपतीय शासन लागू गर्नुपर्छ भन्नुभयो। बाबुरामको सरकार जति धेरै लम्बियो त्यति नै देशको स्वाधीनतामा खतरा हुने भएकोले छिटो भन्दा छिटो बाबुरामलाई सत्ताच्यूत गर्नुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो।

सम्मेलनको बन्द सत्रले काशीलाल डंगोलको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति गठन गर्यो। यसअघि सम्मेलनको उद्घाटन गर्दै नेमकिपाका केन्द्रीय सचिव सुनिल प्रजापतिले माओवादी वास्तवमा के हो भन्ने विषयमा क्रमशः रहस्योद्घाटन हुँदै गएको बताउनुभयो। उहाँले काँग्रेस र एमाले भारतीय विस्तारवादको लागि बुढो घोडा भइसकेकाले प्रचण्ड र बाबुराम भट्टराईको काँध चढेर भारतीय शासक वर्गले नेपालमा हस्तक्षेपलाई निरन्तरता दिन खोजिरहेको बताउनुभयो। चार शासक दलहरुतर्फ संकेत गर्दै सचिव प्रजापतिले भन्नुभयो –देश जलाएर खरानीको व्यापार गर्ने चारजना व्यापारीलाई मुग्लान कटाउनुपर्छ। राजनीतिक नेताहरु राजनेताभन्दा व्यापारी बन्दा विकृति बढेको उहाँको भनाइ छ।

पदका लागि ठूला दलहरुले देश डुबाएका छन्, उहाँले भन्नुभयो। संविधानसभाको पुनर्स्थापना वा पुनःनिर्वाचनले भन्दा संसदीय निर्वाचनले राजनीतिक समस्या समाधान गर्नसक्ने सचिव प्रजापतिको विचार थियो। नेमकिपा चौंथो काठमाडौं जिल्ला सम्मेलन तयारी समितिका संयोजक नारायण महर्जनले जिल्लामा अरु दलहरुले जस्तै नेमकिपाले विकास निर्माणको रकम दुरुपयोग नगरेको बरु व्यापक जनताको हितमा लगाउने गरेको बताउनुभयो।

नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले जात–क्षेत्र र भाषाभन्दा वर्गसंघर्ष मुख्य कुरा भएकोमा जोड दिनुभयो। नेपाल क्रान्तिकारी महिला संघका सचिव लीला न्याइच्यार्इंले संघ राज्य नहुने भएपछि भारतीय विस्तारवादकै इसारामा प्रधानमन्त्रीले संविधानसभा विघटन गरेको दाबी गर्नुभयो। नेक्रायुसंघका अध्यक्ष उकेश कवांले तराईमा ८० प्रतिशत भारतीय नम्बर प्लेटका गाडी चल्ने गरेको र त्यहाँका व्यापारिक संगठनका अध्यक्षसमेत भारतीय नागरिक हुने गरेको जानकारी दिनुभयो।

सम्मेलनमा नेक्रामसंघका सहसचिव उपेन्द्र सुवाल, नेक्राविसंघका केन्द्रीय सदस्य नीरज लवजू, शिक्षक सजीव श्रेष्ठ, नेमकिपा काठमाडौं महानगर समितिका नरमान मर्हजन, नेक्राकिसंघ सरस्वती गाउँ समितिका वीरबहादुर डंगोल, नेमकिपा सरस्वतीका राजु श्रेष्ठ, नेमकिपा मनमैजूका गणेशमान महर्जन, नेमकिपा कीर्तिपुरका हरिकुमार महर्जनलगायतले शुभकामना दिनुभएको थियो।

तयारी समितिका शैलेन्द्र डंगोलको सभापतित्वमा भएको कार्यक्रममा रामलाल महर्जन, राजेश श्रेष्ठ, रेविना डंगोललगायतले बोल्नुभएको थियो। कार्यक्रममा जोर भीमसेन दाफा खलले बाँसुरी धुन प्रस्तुत गरेको थियो।