भक्तपुरमा आउँदो असोज ६ गते शनिबार जिल्लामै पहिलो सडक महोत्सव हुने भएको छ। भक्तपुरको पर्यटन प्रवर्द्धनका लागि साझेदारी र जनसहभागितालाई प्राथमिकतामा राख्दै पर्यटन गतिविधिलाई स्थानीय जीविकोपार्जनको मुख्य क्रियाकलापसँग जोड्ने प्रयासलाई सफल बनाउन जिल्लाका ३ संस्थाहरुको संयुक्त आयोजनामा सो महोत्सव हुने भएको छ।
महोत्सवको आयोजकमा भक्तपुर नगरपालिका, जिल्ला विकास समिति र भक्तपुर उद्योग वाणिज्य संघ रहेका छन्। महोत्सव सफलतापूर्वक सम्पन्न गर्न जननिर्वाचित प्रमुख प्रेम सुवालको संयोजकत्वमा एघार सदस्यीय आयोजक समिति गठन गरेको छ। समितिका अन्य सदस्यहरुमा निर्वाचित उप्रमुख चैत्यराज शाक्य, निर्वाचित वडा अध्यक्षहरु रवीन्द्र खर्बुजा, उकेश कवां, कार्यकारी अधिकृत राममणि भट्टराई, जिविस प्रतिनिधि, भक्तपुर उद्योग वाणिज्य संघका कृष्णप्रसाद अवाल, चुडामणि कायष्ठ, राजुमृगेन्द्र जोशी, भनपाका पर्यटन अधिकृतद्वय गौतमप्रसाद लासिवा र दामोदर सुवाल रहेका छन्।
महोत्सवको लागि गर्नुपर्ने आवश्यक तयारीका काम अघि बढिरहेको आयोजक संस्था मध्येका एक भक्तपुर नगरपालिकाले जनाएको छ। जीवित संग्रहालयको रुपमा रहेको भक्तपुर नगरको कला र संस्कृतिको सम्बर्द्धन र जगेर्ना गरी आन्तरिक र बाह्य पर्यटक प्रबर्द्धन गर्ने, भक्तपुरको औद्योगिक उत्पादन एवम् हस्तकलाको बजारीकरणका लागि आवश्यक टेवा पुर्याउने उद्देश्यले गर्ने महोत्सवमा जिल्लाको सांस्कृतिक, परम्परागत पहिचान बोकेका झाँकी, परिकारलगायतको स्टल रहने जनाएको छ।
असोजको पहिलो हप्ता भक्तपुरमा पहिलो सडक महोत्सव आयोजकहरुका अनुसार महोत्सवमा हस्तकला लघु उद्यम एवम् औद्योगिक उत्पादनहरु, सांस्कृतिक कार्यक्रम एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गतका उत्पादनहरुलगायत रहनेछन्। आगामी असोज ६ गते शनिबारका दिन हुने महोत्सवका अन्य आकर्षणहरुको रुपमा चित्रकला, छवाली कला, थाङका चित्र, फोटो, पुस्तक, नेवारी जीवन शैलीलगायतको प्रदर्शनी गरिनेछ भने महोत्सवमा विभिन्न रेष्टुराँहरुको खाना स्टलहरु, चिकेन एण्ड अण्डा महोत्सव, दही महोत्सव, नेवारी खानाका स्टलहरुलगायत गरी करिब २ सयको हाराहारीमा स्टलहरु रहने नगरपालिकाले जनाएको छ।
महोत्सव दुई हजार पाँचसय बाह्य पर्यटकहरु र १ लाख ६७ हजार आन्तरिक पर्यटकहरुले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ। महोत्सवको सहआयोजकको रुपमा जिल्लामा पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था, व्यवसायी संघ, बस व्यवसायी संघलगायत गरी १५ संस्थाहरु रहेका छन्। महोत्सवमा भक्तपुर नगरपालिकाका कूल २८ स्थानहरुमा विशेष प्रदर्शनीहरु गर्न स्थान तय गरेको पनि आयोजकले जनाएको छ।
