चोभारमा तरकारी बजार स्थापना गरिने

Friday, 31 August 2012 22:50 ourkirtipur
Print

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको पहलमा कीर्तिपुरस्थित चोभारमा २५ रोपनी जग्गामा वैकल्पिक थोक तरकारी बजार स्थापना गरिने भएको छ। कालिमाटीको तरकारी बजारले मात्र उपत्यकाबासीको माग पुरा गर्न नसकेपछि खाली रहेको सो ठाउँमा तरकारी बजार स्थापना हुने जानकारी समितिले गराएको छ।

कार्यकारी निर्देशक रुद्र बहादुर श्रेष्ठले तरकारी बजारले काठमाडौंका मानिसहहरुलाई धान्ने क्षमता नभएकोले चोभारलाई वैकल्पिक तरकारी बजारको रुपमा स्थापित गर्नका लागि सुरु गरिएको जानकारी श्रेष्ठले दिनुभयो। समितिका अनुसार उपत्यकाका दैनिक एक हजार मेटि्रक टन तरकारीको माग हुने गरेकोमा तरकारीले उपत्यकाबासी उपभोक्ता मध्ये झण्डै ७० प्रतिशतको माग धानेको छ भने बाँकीको माग साना बजारबाट धानेको अनुमान गरिन्छ। निर्देशक श्रेष्ठले उपत्यकाबासी उपभोक्ताको तरकारीको माग धान्नका लागि कालिमाटी तरकारी बजारको विकल्पमा राजधानीमा २ वटा थोक बजार रहेको बताउनुभयो।

समितिका अनुसार चोभारमा तरकारीको थोक बजार स्थापनाका लागि २५ रोपनी जग्गा छ। कालिमाटीको अर्को विकल्पमा ललितपुरस्थित सुन्दरीघाटलाई पनि प्रस्ताव गरिएको छ तर अहिलेसम्म त्यस ठाउँमा तरकारी बजार राख्ने वा नराख्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन। कालिमाटी तरकारी बजारमा पर्याप्त ठाउँको अभाव भएको भन्दै विकल्पका रुपमा मनोहराफाँटमा थोक तरकारी बजार निर्माणको  शिलान्यास गरिएको थियो तर त्यस क्षेत्रमा रहेका सुकुम्बासीको अवरोधले गर्दा त्यस ठाउँमा बन्ने भनिएको तरबारी बजार नबन्ने अवस्थामा पुगेपछि हाल अर्को विकल्पको रुपमा चोभार र सुन्दरीघाटलाई लिन थालिएको छ।

– सुलोचना थापा

Last Updated ( Friday, 31 August 2012 22:55 )