अध्यक्ष रोहितको “जेलका चिठ्ठीहरु” सार्वजनिक

Friday, 31 August 2012 22:36 ourkirtipur
Print

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका  अध्यक्ष  नारायणमान बिजुक्छेंद्वारा लिखित “जेलका चिठ्ठीहरु” नामक पुस्तक गत शनिबार एक समारोहबीच वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले सार्वजनिक गर्नुभएको छ।

नेमकिपाविरुद्ध निरंकुश पञ्चायती व्यवस्थाद्वारा रचित षड्यन्त्र भक्तपुर काण्डमा जेल पर्नु भएका  अध्यक्ष  रोहितले श्रीमती शोभाको नाममा लेख्नु भएका चिठ्ठीहरुको संकलनको रुपमा पुस्तक प्रकाशित गरिएको छ।  पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी सांस्कृतिक संघद्वारा आयोजित कार्यक्रममा नेमकिपाका  अध्यक्ष  रोहितले विदेशी सांस्कृतिक आक्रमणसँगै सैनिक आक्रमण हुने खतरा रहेकोले साहित्यमा आयातीत भाषाको प्रयोगमा सजग हुनुपर्ने विचार व्यक्त गर्नुभयो। उहाँले फेरि पनि पार्टीहरुविरुद्ध शासकहरुले पञ्चायती व्यवस्थाले जस्तै षड्यन्त्र गर्नसक्ने सम्भाव्यता रहेको भन्दै उहाँले जनता सचेत र सजग हुनुपर्ने बताउनुभयो।

अध्यक्ष  रोहितले हिजो विदेशी सेनाले जस्तै शासक वर्गले जनतामाथि दमन गरेको तर आज विदेशी सेना नै आउने खतरा रहेको उल्लेख गर्नुभयो।  कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले जनतामाथिको पञ्चायती तानाशाही व्यवस्थाको दमनले विद्रोहको भावना आएको विचार व्यक्त गर्नुभयो। कार्यक्रममा समालोचक रामप्रसाद ज्ञवाली, साहित्यकार इन्दिरा प्रसाईं, कवि दामोदर सुवालले कृतिमाथि समालोचना गर्नुभएको थियो।

समालोचक रामप्रसाद ज्ञवालीले पुस्तकले इतिहास, वर्तमान र भविष्यबोध गराएको उल्लेख गर्नुभयो। चिठ्ठी साहित्यको रुपमा लेखिएको पुस्तकले समाजको परिवर्तनको आह्वान गरेको उहाँले चर्चा गर्नुभएको थियो।  साहित्यकार इन्दिरा प्रसाइंले लेखक पुस्तकमा इमानदारीपूर्वक प्रस्तुत भएको बताउनुभयो। कवि दामोदर सुवालले पुस्तकले कामदार जनतामा उत्साह थपिएको उल्लेख गर्नुभएको थियो। नेपाल पत्रकार समाजका  अध्यक्ष  लक्ष्मण जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाका  अध्यक्ष  रोहितका पत्नी शोभा बिजुक्छेंले आफ्नो अनुभव सुनाउनुभएको थियो।  पत्र साहित्यको रुपमा प्रकाशित पुस्तक नेक्रासांसंघले प्रकाशित गरेको हो।