काठमाडौं। यो बर्ष सहिद स्मारक “सी” डिभिजन लिगबाट एकमात्र टोली “बि” मा बढुवा हुने भएको छ। अखिल नेपाल फटबल संघ (एन्फा) ले भदौ २० गतेबाट “सी” डिभिजन लिग संचालन गर्न मंगलबार खेल तालिका सार्वजनिक गरेको छ। १४ मध्ये १३ सी डिभिजन क्लवको मात्र यस पटक प्रतिस्पर्धा हुने भएका छन्।
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले सबै डिभिजनमा क्लवको संख्या मिलान गर्नका लागि यसपालि “सी” बाट एउटा मात्र टोली बढुवा गर्न लागेको बताए। गतबर्ष “बी” डिभिजनबाट घटुवा भएको कुमारी क्लव नयाँबजारले यसपटक “सी” मा भाग लिने छैन। गत वर्ष अन्तिम खेल बहिष्कार गर्दै बी बाट सी मा घटुवा ज्ञानभैरव क्लवले भने यस वर्ष “सी” मा खेल्दैछ। भाग नलिएपछि कुमारी स्वतः र सहभागी टोलीबाट अर्को एउटा टोली घटुवामा पर्नेछन्।
१३ क्लवलाई दुई समूहमा विभाजन गरी लिग चरणका आधारमा प्रतियोगिता खेलाइने एन्फाले जनाएको छ। समूह “क” मा झम्सीखेल युथ, ज्ञानभैरव युवा, भगवती युवा, खुमलटार युवा, ब्वाइज स्पोर्टस कीर्तिपुर, कंलकी नवज्योति र खालीबारी क्लव रहेका छन् भने सानेपा, प्लानिङ ब्वाइज युनाइटेड, सानो गौचरन युवा, समाज कल्याण खेलकुद केन्द्र, चारुमती युवा र नयाँबस्ती सक्षमनगर युवा समूह “बि” मा रहेका छन्।
समूह “क” र “ख” को पुछारमा रहने दुई टोलीले घुटवाबाट बच्न पुनः प्रतिस्प्रर्धा गर्नेछन्। समूहका दुई विजेताबीच “सी” को च्याम्पियनका लागि प्रतिस्प्रर्धा हुनेछ। प्रतियोगिताको विजेताले २ लाख र उपविजेता १ लाख रुपैया पाउने छन्। प्रतियोगितामा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवर्डर प्रशिक्षकले जनही रु.१० हजार पाउनेछन्। असोज ३ गतेसम्म हुने “सी” का सहभागी हरेक क्लवले तयारीबापत एन्फाबाट ७५ हजार रुपैयाँ पाउने छन्। “सी” लिगको पहिलो दिन भदाै २० मा समूह “क” अन्तर्गत खुमलटार र ब्वाईज स्पोर्ट कीर्तिपुर, भगवती र कलंकी तथा ज्ञानभैरव र खालीबारीबीच प्रतिस्पर्धा हुने भएको छ।
