काठमाडौं। यातायात व्यवस्था कार्यालय बागमतीका २ कर्मचारी नेगमराज रेग्मी र रामचन्द्र चालिसेलाई लाइसेन्स बनाउँदा घूस लिएको प्रमाणित गर्दै विशेष अदालतले ३ महिना कैद फैसला गरेको छ। यसैगरी घूस खुवाउने मनु थापा र बर्क बहादुर थापालाई पनि मंगलबार अदालतले कैद सजाय सुनाएको छ। यातायात कार्यालयका खरिदार नेगमराज रेग्मी र कम्प्युटर अपरेटर रामचन्द्र चालिसेलाइ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउँदा नजराना असुलेको पुष्टि गर्दै विशेष अदालतले ३ महिना कैद र ३५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। घूस खुवाउने कार्यमा संलग्न मनु थापा र बर्क बहादुर थापालाई पनि ३ महिना कैद सजाय सुनाइएको छ।
यातायात व्यवस्था कार्यालय, बाग्मती, एकान्तकुना ललितपुरमा कार्यरत खरिदार नेगमराज रेग्मी र कम्प्युटर अपरेटर रामचन्द्र चालिसेले प्रतिवादीद्वय मनु थापा र बर्क बहादुर थापाबाट घूस रकम लिई किशोरकुमार श्रेष्ठ र पद्मबहादुर पौडेल छेत्रीको नाममा क्रमशः १६–२२८७७६ र १६–२२८७४१ नम्बरको सवारी चालक अनुमतिपत्र बनाई दिएको देखिन्छ”, विशेष अदालतको फैसलामा भनिएको छ। घुस खाएपछि कर्मचारीले ट्रायल, लिखित, मौखिक परीक्षा नलिई अनिवार्य स्वास्थ्य परिक्षणसमेत नगराई सवारी चालक अनुमतिपत्र दिएको अदालतले जनाएको छ।
