काठमाडौं, २३ साउन। मुलुकको मुख्य प्रशासनिक अड्डा सिंहदरबारमा सामाजिक सञ्जाल फेसबुकलाई प्रतिबन्ध लगाइएको छ। कार्यालय सुरु हुनासाथ कर्मचारीहरु फेसबुकमा झुण्डिन थालेपछि सरकारले मुख्य चाप हुने समयमा फेसबुक नखुल्ने बनाएको छ। सिंहदरबारभित्र वितरित इन्टरनेट नियन्त्रण गर्ने अर्थ मन्त्रालयले बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म सिंहदरबारस्थित मन्त्रालयका कम्प्युटरमा फेसबुक नचल्ने बनाएको हो।
अर्थ मन्त्रालयका प्रवक्ता राजन खनालले फेसबुक चलाउँदा इन्टरनेट सुस्त भएको कारण परीक्षणको रुपमा फेसबुक बन्द गरिएको बताउनुभयो। प्रधानमन्त्री कार्यालय, सूचना तथा सञ्चार, विज्ञान तथा प्रविधि मन्त्रालयलगायतमा फेसबुक खोल्न अपरान्ह ३ बजाउनुपर्छ। जतिबेला अधिकांश कर्मचारी कार्यकक्ष छाडेर घरतिर लागिसकेका हुन्छन्। बिहान दस बजे कार्यालय पुग्नासाथ कर्मचारीहरुले फेसबुक खोलेर भुल्ने गरेपछि इन्टरनेटसमेत सुस्त भएको बताइएको छ। गएको दुई सातादेखि फेसबुक बन्द गरेपछि कामको चाप हुने समयमा इन्टरनेटसमेत द्रुत भएको बताइएको छ।
