होडिर्ङ बोर्डबाट अहिलेसम्मकै उच्च रकम संकलन

Monday, 13 August 2012 12:47 administrator
Print

काठमाडौं। काठमाडौ महानगरपालिकाले बाह्य विज्ञापनबापत अहिलेसम्मकै उच्च रकम संकलन गर्न सकेको छ।

आर्थिक वर्ष २०६७/६८ मा बाह्य विज्ञापनबाट रु. एक करोड ४० लाख तीन हजार ९५५ संकलन भएकोमा आर्थिक वर्ष२०६८/६९ मा सो रकम वृद्धि भई रु.एक करोड ६१ लाख ४४ हजार ६२९ पुगेको छ। सो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा रु. २१ लाख ४० हजार ६७४ ले बढी हो। बाह्य विज्ञापनअन्तर्गत होडिर्ङ बोर्ड, विद्युतीय पाटी तथा ब्यानर, पोस्टर, आदि पर्दछ। महानगरपालिकाले होडिर्ङ्ग बोर्डको शीर्षकबाट मात्र रु. १ करोड ४५ लाख ८० हजार ३४९ संकलन गरेको छ।

प्रतिबन्धित रक्सी, चुरोटको विज्ञापन बन्द गरेपनि सो रकम होडिर्ङ्ग बोर्डको शीर्षकमा उठ्ने रकममध्ये पनि अहिलेसम्मकै उच्च भएको महानगरपालिकाले जनाएको छ। यसरी विज्ञापन वृद्धि हुनुमा विज्ञापन प्रयोग गर्ने संघसंस्थाको संख्या वृद्धि हुनु प्रमुख भएको महानगरपालिकाको भनाइ छ। महानगरपालिकाअन्तर्गत राजस्व महाशाखाका प्रमुख राज्यप्रकाश प्रधानाङ्गले महानगरभित्रको क्षेत्रमा बाह्य विज्ञापन प्रयोग गर्ने संघसंस्थाको संख्यामा आएको वृद्धि र उनीहरुले समयमै शुल्क भुक्तानी गर्ने गरेकाले बढी रकम संकलन भएको जानकारी दिनुभयो।

Last Updated ( Monday, 13 August 2012 12:51 )