विकास तर्फ लम्किदै “चोभार”

Monday, 13 August 2012 12:44 administrator
Print

काठमाडौको नजिक स्थल, हरियाली तथा प्राकृतिक र सांस्कृतिकले भरिपूर्ण मनोरम् क्षेत्र चोभार प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ। खाली जमिनको उपयोग, फोहोर व्यवस्थापन र प्राकृतिक स्वास्थ्य र पर्यटकीय नमुना यी ३ एजेन्डालाई अगाडि बढाई यही २०६९/४/२० गते चोभारलाई विकास तर्फ लम्काउने सोचका साथ श्री आदिनाथ मा.वि. मा अन्तरक्रिया कार्यक्रम भएको थियो।

आदिनाथ मा.वि, प्राकृतिक मानव समाज र नेपाल योग तथा प्राकृतिक चिकित्सा संघद्वारा आयोजित सो कार्यक्रममा यी ३ एजेन्डाहरुलाई सरकार सामु प्रस्ताव राख्ने भएको छ। होटल व्यवसायी तथा पर्यटक व्यवसायका अध्यक्ष विजय महर्जनले सबै एकजुट भई अगाडि बढ्यौँ भने विदेशी सहयोगको आवश्यकता नभएको उक्त कार्यक्रममा बताउनु भएको थियो। प्राकृतिक मानव समाजका लक्षमण पुरेले चोभारलाई पर्यटकीय विकास क्षेत्रको रुपमा नमुना बनाई अगाडि लानुपर्ने बताए।

स्थानीय बासिन्दालाई सक्रिय बनाई फोहर व्यवस्थाको प्रबन्ध मिलाउनुपर्ने र साथै मठ–मन्दिरको पूर्ण निर्माण गर्नुपर्ने जरुरी रहेको उनले उक्त कार्यक्रममा बताए। होम स्टे संचालन गर्न कुनै व्यक्तिलाई मात्र नभई पूरै परिवारलाई तालिम दिनु जरुरी रहेको उनले उक्त कार्यक्रममा बताउनु भयो। आदिनाथ सामुदायिक वनका विवेक कार्कीले चोभार सम्पूर्ण प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएकोले स्वास्थ्यको लागि उपयोगी स्थान रहेको र साथै चोभारबासीको जीवनस्तरमा सुधार हुने ठोकुवा गर्नुभयो।

जलविनायक सामुदायिक वन उपभोक्ता समुहका इन्द्र बहादुर महर्जनले चोभार नेपालको प्राकृतिक रुपमा एक नमुना भएकोले विकासको अति आवश्यकता रहेको बताउनु भयो। स्थानीय बासिन्दाहरुलाई लाभान्वित दिएर प्राकृतिक र पर्यटकीय विकासका रुपमा नमुना बनाई अघि बढाउनु पर्नेमा उनले जोड दिनुभएको थियो।