सेलिया हरेक आइतबार आफ्नो स्टुलमा बसेर मान्छेहरुका दुखेसो सुन्ने गर्छिन् । उनलाई आफ्नो जीवनमा आइपरेका सानाठूला दुःख तथा समस्याका कुराहरु सुनाउन हरेक आइतबार थुप्रै मान्छेहरु जम्मा हुन्छन् । उनीहरुका यी दुःखका कुराहरु सुनेबापत सेलियाले एउटा बिऊ पाउँछिन् । मान्छेहरु भने आफ्नो मनको कुराहरु सेलियालाई पोखेर हल्का र खुसी भएर फर्कन्छन् ।

एक दिन एउटा जुलियन नाम गरेको साह्रै दुःखी केटो सेलियालाई भेट्न आउँछ । आफ्नो पालो कुर्दै गर्दा त्यो केटोले सेलियालाई दिन भनेर ल्याएको बिऊ आफ्नो हराएको चाल पाउँछ । सेलियालाई तिर्नुपर्ने बिऊ हराएपछि उ बिस्तारै त्यहाँबाट दुःखी नै भएर निस्कन्छ । सेलिया भने सधैँ झैँ सबै मान्छेहरुको कुरा सुन्न सकाएर जम्मा भएका बिऊहरु आफ्नो ठेलामा राख्छिन् ।
भोलीपल्ट बिहानै सेलिया
बिऊहरुले भरिएको ठेला लिएर बजारमा जान्छिन् । केही बिऊहरु आफ्नो हातमा लिन्छिन् र
हल्का फुकेर बिऊ हावामा छर्छिन्। ती बिऊहरु रङ्गीचङ्गी बेलुनहरुमा परिणत हुन्छन् ।
त्यसैगरी ती बिऊलाई सेलियाले एउटा रुखमा छर्दा रुखभरी स्याउ भएर सजिन्छन् । सेलियाले
ती बिऊलाई पहाडमा छर्दा पहाडभरि फूलहरु फुल्छन् । त्यस्तै ती बिऊलाई सेलियाले
भर्याङ् चढेर आकाशमा टाँग्छिन् र ती तारा बनेर आकाशमा चम्कन्छन् ।
यी सबै कामहरु गर्दैगर्दा
सेलियाले बाटोमा दुःखी केटो जुलियनले हराएको बिऊ भेट्छिन् । त्यसदिनको काम सकाएर
आफ्नो घर फर्कने क्रममा सेलियाले त्यहि दुःखी केटो भेट्छिन् । सेलियाले जुलियनलाई
उसको हराएको बिऊ आफुले भेटाएको बताउँछिन् र आफुसँगै आफ्नो घर लग्छिन् । घर पुगेर सेलिया
र जुलियन मिलेर त्यो बिऊलाई एउटा गमलामा रोप्छन् । केही दिनको पर्खाई पछि जुलियनले
रोपेको बिऊबाट एउटा सानो विरुवा उम्रन्छ । यो देखेर जुलियन निकै खुसी हुन्छ र
सेलियालाई धन्यवाद दिन्छ ।
हालै मात्रै एक अनन्य
मित्रबाट उपहारको रुपमा पाएको बालबालिकाहरुको लागि लेखिएको कथा-किताब 'सेलिया' को कथासार हो यो । प्रथमतः बेल्जियममा सन् २०१२ मा
प्रकाशित भएको यस पुस्तकलाई सन् २०१४ मा अंग्रेजीमा अनुवादन गरी न्युयोर्कको पिटर
पोपर प्रेसले प्रकाशित गरेको हो । यस पुस्तकका लेखक क्रस्टेल भाल्ला (Christelle
Vallat) हुन् भने यसमा सजिएका मनमोहक चित्रहरु स्टेफानी आगासे
(Stephanie Augusseau) ले कोरेका हुन् । यी दुबै फ्रान्सेली नागरिक
हुन् ।
यस पुस्तकको कथा र
चित्र दुवैले मेरो मनको गहिराइसम्म छोएका छन् । बालपुस्तकहरु पढ्न मलाई निकै रमाइलो
लाग्छ; थुप्रै रमाईला बालकथाहरु पढेको पनि छु । तर 'सेलिया'ले मेरो मन मष्तिस्कमा अद्वितिय
छाप छोडेको छ ।
'सेलिया'को कथामा थोरै
दुःख/सुखका कुरा, थोरै एडभेन्चर, थोरै
जादु, थोरै सम्बन्धका कुरा र धेरै प्रसन्नताका कुराहरु छन् । कथामा कुनै पनि मोडमा
अलिकति पनि जटिलता छैन, निकै सरल छ । कुनै जटिल नैतिक शिक्षापनि झुन्ड्याइएको छैन ।
के सहि हो, के गलत ? को सहि छ, को गलत ? के राम्रो, के नराम्रो ? केहि पनि भनिएको
छैन कथामा । यसमा कुनै 'हिरो' छैन न कुनै 'भिलेन' छ। 'राम्रो' पात्रले साहसिक भई
'नराम्रो' पात्रलाई जितेको पनि छैन। 'हुने विरुवाको चिल्लो पात'को उदाहरण पनि
प्रस्तुत गरिएको छैन । यति हुँदाहुँदै पनि यदि प्रतिकात्मक रुपमा हेर्ने हो भने
कथामा निकै महत्वपूर्ण सन्देशहरु लुकेका छन् ।
'सेलिया'को जस्तो अरुको
दुख-सुखका कुरा धैर्यपुर्वक सुन्ने क्षमता निकै थोरैसँग मात्रै छ । यति मात्र
नभएर, सेलियाले मान्छेहरुबाट पाएको बिऊलाई थोरै जादुको सहयोगमा शहरभरि खुसीयालीको
रुपमा छर्छिन् । यो प्रतिकात्मक घटनालाई पाठकले आ-आफ्नो अनुकुल व्याख्या गर्न सक्छन्
। हाम्रो समाजमा पनि यस्ता पात्रहरु पक्कै छन् जसले केबल अरुको हितको लागि आफ्नो
जीवन अर्पण गरिरहेका छन् ।
त्यस्तै, सेलियाले
जुलियनलाई पनि धैर्यताको महत्व सिकाउन सफल हुन्छिन् । सृजनाबाट पाउने प्रसन्नताको स्वाद
पनि यो कथाले चखाएको छ ।
बालबालिकाले यो कथालाई यसरी प्रतिकात्मक रुपमा ता पक्कै बुझ्न सक्दैनन् । तर उनीहरु पक्कै पनि सेलियाको व्यक्तित्वबाट प्रभावित हुन्छन् । बालपाठकहरुले 'सेलिया'को अरुको कुरा सुनेर उनीहरुलाई मन हल्का गर्न सहयोग गर्ने र पछि शहरभरि खुसी बाँड्ने कामलाई अवश्य पनि रुचाउँछन् । त्यसैगरी जुलियनको दुःखमा दुःखी, उसको धैर्यतापूर्ण पर्खाइमा धैर्य र उसको उत्साहमा उत्साहित अवश्य हुन्छन् । त्यस्तै बालपाठकहरु जुलियनको खुसी र कृतक्षतामा कृतक्ष पनि पक्कै हुन्छन् ।
त्यसैले, 'सेलिया'ले बालबालिकालाई बोझिलो र झर्कोलाग्दो उपदेश नदिइकन नै राम्रो बानीको अनुसरण गर्न अप्रत्येक्ष रुपमा प्रेरित गर्छ ।
