जीवनमा असल मित्रको साथ भयो भने जस्तोसुकै कठिन अवस्थाको पनि सामना गर्न सकिन्छ रे । तर प्रश्न कहाँ उठ्छ भने त्यस्तो साथी कहाँ सबैको भाग्यमा हुन्छ र? जस्तोसुकै मिल्ने साथी भन्नेहरुले पनि पर्दा साथ दिन छोड्छन्, मुख फेर्दछन् । यस्तो अवस्थामा एक्लै मोनोटोनस भएर बस्नु भन्दा अर्को विकल्प खोज्नु नै जाति हुन्छ नि होइन र? फेरि अर्को विकल्प सोच्न पनि त समय लाग्छ । त्यसैले किताब, साहित्य आदिमा आफ्नो साथी खोज्न सके कस्तो हुन्छ होला? भनिन्छ पुस्तक हरेक मानिसको असल साथी हो ।
आजको २१ औं शताब्दीमा साहित्य, लेख–रचना पाउन र पढ्न त्यति गाह्रो पनि छैन । पसलहरु, लाइब्रेरी लगायत इन्टरनेटबाट पनि सजिलै पुस्तकहरु पढ्न सकिन्छ । केही पनि गर्नु जरुरी छैन मात्र एक प्रयास गर्ने जरुरी छ र म एकिन साथ भन्न सक्छु साहित्य भरोसादायक साथी हुनसक्छ र जीवनभरको साथी पनि ।
अझ भन्ने हो भने साहित्य जीवनको पर्याय नै हो । यसले जीवनको त्यो रहस्य सिकाउँछ जसन हरुबाट सम्भव छैन । यसमा त्यो चुम्बकीय शक्ति हुन्छ जसको मार्फत दुःख, सुख, भोक, प्यास सबै गायब गरिदिन्छ । यसले जीवनलाई नयाँ दिशामा, मोडमा लैजान मद्दत गर्दछ । तसर्थ साहित्यमा एक्लोपन हटाउने औषधि हुन्छ ।
हुन त साहित्यका धेरै विधाहरु हुन्छन् । आफूलाई जुन मन लाग्छ रोजी रोजी पढ्न सकिन्छ । आजको कठिन राजनैतिक परिस्थितिलाई हटाउने उपाय देखि लिएर महिला उत्पिदन र शोषणलाई हटाउने विभिन्न विधिहरु साहित्यमा पाउन सकिन्छ । साहित्यहरुमा चाहे त्यो जगदीश घिमिरेको 'अन्तरमनको यात्रा' होस्, चाहे त्यो शेक्सपीयरको 'रोमियो एण्ड जुलियत' होस्, किट्सको वा वाइरनको रोमान्टिक कथाहरु होस्, पारिजातको 'शिरिषको फूल', 'पारिभाषित आँखाहरु' होस्, वि. पि.को मनोबैज्ञानिक कथाहरु होस् वा कर्ण शाक्यको 'सोच', 'खोज' जस्ता पुस्तकहरु होस्, सबैमा जीवनलाई नयाँ ढंगबाट वर्णन गर्ने क्षमता प्रदान हुन्छ। यस्तो यथार्थ चित्रण गर्ने साहित्यहरु नै जीवनको अभिन्न अङ्ग बन्न सक्छ । तसर्थ असल साथी नभएर निराश नहुनुहोस्, साहित्यलाई आफ्नो दुःख सुखको साथी बनाउन खोज्नुहोस् । यसमा दुब्ने प्रयास गर्नुहोस् यसको नशालाई छोड्न गाह्रो हुन्छ ।
साथै साहित्य पठनपाठनले मानिसलाई तनावबाट मुक्त राख्न, मन एकाग्र राख्न पनि ठूलो मद्दत गर्छ । पढ्नलाई कुनै निश्चित समय निकाल्न जरुरी छैन । एउटा पुस्तक साथमा हमेशा राख्नुहोस् र जहिले समय हुन्छ साहित्यसेवनमा लागि हाल्नुहोस् । यसका लागि आफूलाई पायक पर्ने स्थानमा रहेको पुस्तकालयको सदस्य बन्न सकिन्छ । साथै साथी साथी बीचमा पुस्तकहरु आदान-प्रदान गरि पालै पालो पढ्न सकिन्छ ।
यस सन्दर्भमा कीर्तिपुर क्षेत्रका सार्वजनिक पुस्तकालय वा वाचनालयको कमी स्पष्ट देखिन्छ । नगन्य मात्रामा रहेका धेरै पुस्तकालयहरु प्रभावकारी छैनन् । यति धेरै विद्यार्थीहरु बस्ने ठाउँमा पुस्तकालय नहुनु विडम्वना भन्दा केही हुन सक्दैन । समाजका सबै वर्ग लाभान्वित हुने यस्तो पवित्र काम पछि पर्नु निश्चित राम्रो होइन । आशा गरौं भविष्यमा कीर्तिपुर क्षेत्रमा पनि गुणस्तरीय पुस्तकालयहरु खुल्ने छन् र म जस्ता साहित्यप्रेमीहरुले सुस्ताउने, रमाउने एउटा साझा चौतारी पाउनेछन् ।
प्रबिना तन्दुकार





